
झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ ।
सहकारी संस्थाको साधारणसभा कार्यब्यवस्था (पहिलो संशोधन) निर्देशिका २०७६, सहकारी नियमावली २०७५ को दफा (झ) र सहकारी नियमन प्राधिकरणको मिति २०८२ भाद्र १७ गतेको निर्देशन नं. ०२/२०८२/०८३ बमोजिम सिम्रिकले ७ वटा इकाइगत साधारण सभा गरिरहेको हो ।
असोज ३ गते इलाम बजारमा ११ वटा सेवा केन्द्रका सेयर सदस्यहरुको उपस्थितिमा पहिलो इकाइगत साधारण सभा गरेको संस्थाले असोज ४ गते मोरङको मंगलबारेमा ९ वटा सेवा केन्द्रका सदस्यहरुको सहभागितामा दोस्रो इकाइगत सभा सम्पन्न गरेको थियो ।
यसैगरी ५ गते झापाको पाडाजुँगीमा ५ वटा सेवा केन्द्र र ६ गते सुरुङ्गामा ५ वटा सेवा केन्द्रका सेयर सदस्यहरुको सहभागितामा चौथो इकाइगत सभा सम्पन्न गरेको छ । यो समाचार तयार गर्दैगर्दा आज असोज ७ गते पाँचौं इकाइगत साधारणसभा अन्तरगत चन्द्रगढीमा ५ वटा सेवा केन्द्रका सेयर सदस्यहरुको सहभागितामा सभा सञ्चालन भइरहेको छ ।
उक्त इकाइगत साधारण सभाहरुमा संस्थाका अध्यक्ष सुवास भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ‘एक घर एक सदस्य’ अभियान अन्तर्गत यसवर्ष ५ हजार २३४ नयाँ सदस्य थपिएर सेयर सदस्य संख्या ६९ हजार ४७० पुर्याइएको जानकारी गराउनु भएको छ ।
समीक्षा वर्षमा संस्थाको शेयर पूँजी ३५ करोड ९ लाख १५ हजार ५०० पुगेको जानकारी दिनुहुँदै अध्यक्ष भट्टराईले अघिल्लो आर्थिक वर्षको वासलात ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ बाट ९ दशमलव ३८ प्रतिशत बृद्धि भई यसवर्ष ३ अर्ब ३१ करोड ९८ लाख ४४ हजार १११ पुगेको बताउनु भयो ।
ती इकाइगत साधारण सभाहरुमा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाले बिना धितो तथा धितोसहित सहुलियत दरमा कर्जा उपलब्ध गराउँदै आएको र सदस्यहरूलाई उद्यमशील बनाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनु भएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक तीर्थ भ्रमण, बाल बचत खाताका लागि स्कूल ब्याग वितरण, राहतकोष सेवा, काजकिरिया सहयोग, ऋणि सदस्यको मृत्यु भएमा कर्जा मिनाहा, ज्येष्ठ तथा असहाय नागरिकलाई न्यानो कपडा वितरण, खेलकुद तथा धार्मिक क्रियाकलापमा सहयोगजस्ता कार्यक्रमहरू सञ्चालन गरेको उहाँको भनाई छ ।
कार्यकारी प्रमुख बस्नेतले बालबचत खाता सञ्चालन गर्ने शेयर सदस्यका १ हजार ८७२ जना बालबालिकालाई समीक्षा वर्षमा स्कूल ब्याग प्रदान गरिएको, राहत कोषमा आबद्ध ६२८ जना शेयर सदस्यहरूलाई ७९ लाख १० हजार ८१२ रुपैयाँ सुविधा उपलब्ध गराएको विवरण सुनाउनु भयो ।
संस्थाले गत आर्थिक वर्षमा सदस्य वा सदस्यका परिवारमा भएको मृत्युमा काजकिरिया खर्च वापत ४० सदस्य परिवारलाई ५ लाख ५९ हजार ४१५ रुपैयाँ र ४२ ऋणि सदस्यले बुझाउन बाँकी रहेको सम्पूर्ण कर्जा रकम ४८ लाख २३ हजार २१५ रुपैयाँ मिनाहा गरिदिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्य तथा गैर सदस्यहरूलाई आर्थिक सहयोग एवम् न्यानो कपडा वितरण तथा स्थानीय संघ संस्थाले आयोजना गर्ने विभिन्न प्रतियोगिताहरुमा आर्थिक सहयोग प्रदान गरेको बताइएको छ । यस्तै, सरकारी अस्पतालमा पिउने पानी फिल्टरको सहयोग जस्ता सामुदायिक क्रियाकलापहरु गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
इकाईगत साधारण सभामा हरेक सेवा केन्द्रबाट १–१ जना उत्कृष्ट बचतकर्ता र असल ऋणिलाई नगद ३ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ ।
यसैबीच सोमबार सुरुङ्गामा भएको चौथो इकाइगत साधारण सभामा संस्थाका ऋणि सदस्य गोविन्दराज कँडेलको २ लाख २९ हजार ७६ रुपैयाँ ५२ पैसा ऋण मिनाहा गरिएको पत्र परिवारमा हस्तान्तरण गरिएको छ ।
संस्थाका ऋणि सदस्य कडेलको मृत्यु पश्चात निजको परिवारलाई थप आर्थिक दायित्व सिर्जना नहोस् भन्ने उद्देश्यका साथ संस्थालाई तिर्न बुझाउन बाँकी रहेको उक्त ऋण रकम मिनाहा गरिएको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
झापामा २५, इलाममा ११, पाँचथरमा १ वटा र मोरङ ९ वटा सेवा केन्द्र रहेको सिम्रिक साकोसले सातवटा इकाईगत साधारणसभा असोज ९ गते सम्पन्न गरी ११ गते बिर्तामोडमा माइन्युट प्रमाणीकरण सभा गर्ने तयारी गरेको छ ।