
झापा । झापामा जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीबाट २४ थान हतियार, ५ हजार ६९० वटा गोली र १८० सेल अश्रुग्यास लुटिएको छ ।
आन्दोलनकारीहरुले इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट लुटेका विभिन्न हातहतियार फिर्ता गरेपनि हालसम्म त्यति नै फिर्ता नभएको प्रहरी स्रोतलाई उधृत गदैं टाइम्स अफ प्रदेशले समाचार लेखेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका लामो हतियार (एसएलआरलगायत) –१४ थान र त्यसको गोली ४ हजारभन्दा बढी , सानो हतियार (पेस्तोल–रिभल्वर)– २ थान र त्यसमा लोड गरिएको ४० राउण्ड गोली , सर्टगन/ग्यासगन– ४ थान र त्यसको १८० सेल ग्यास फिर्ता गरिएको छैन ।
त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका लामो नाल (एसएलआर)– १ थान र त्यसको १५०० भन्दा बढी गोली , सानो हतियार (पेस्तोल–रिभल्वर)–३ थान र त्यसमा प्रयोग हुने १५० भन्दा बढी राउण्ड गोली फिर्ता नगरी गायव बनाइएको प्रहरी स्रोतले जनाएको छ ।
अरु हतियार मानवअधिकारवादीहरुको रोहवरमा आन्दोलनकारीहरुले सेनालाई बुझाएको थियो । चारआलीस्थित अरिदमण गणले बुझेको हतियार प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।
नेपाल प्रहरीले तयार पारेको आन्तरिक विवरणअनुसार देशभरि १ हजार २७६ थान राइफल/पेस्तोल लुटिएका छन् । त्यस्तै ९८ हजार ४९१ थान गोली अभिलेखमा आएका छैनन् ।