
काठमाडौं । चितवनको तुइनखोलामा माथिबाट पहिरो खस्ने क्रम अहिले रोकिएको छ । यसअघि खसेको पहिरो पन्छाउने काम लगातार भइरहेको छ । पहिरो हटाउने काम भइरहँदा नारायणगढ र मुग्लिनतर्फको बाटो देखिन थालेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार दिउँसो साढे १ बजेयता थप पहिरो खसेको छैन । आज बेलुकासम्म एकतर्फी भए पनि सडक सञ्चालन गर्ने गरी काम भइरहेको छ । अब एकतर्फी खुलाउन ४० मिटर बाँकी छ ।
अस्ति शुक्रवार बेलुकादेखि मुग्लिन–नारायणगढ सडक अवरुद्ध छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले सडक खुलाउने काम लगभग अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।
मुग्लिनबाट झन्डै साढे २ किलोमिटर नारायणगढतर्फ पर्ने तुइन खोलामा सडक अवरुद्ध हुँदा यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको थियो । माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि खुलाउन समस्या भएको हो ।
सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा नौबिसे–दामन–हेटौँडा र कालीगण्डकी करिडोरको मुग्लिन–भीमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।