
काठमाडौं । अस्ति शुक्रवार बेलुकादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुल्न सकेको छैन । बिहानैदेखि पहिरो पन्छाउने काम भए पनि लगातारजसो पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
अहिले पनि पहिरोसँगै ढुङ्गा झरिरहेकोले सडक खुलाउन समस्या भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले पहिरो झर्न रोकिएमा अबको तीन, चार घण्टासम्ममा सडक खुलाउन सकिने बताउनुभयो ।
मुग्लिनबाट झन्डै साढे दुई किलोमिटर नारायणगढतर्फ पर्ने तुईन खोलामा सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन समस्या भएको हो ।
सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ ।
कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।