
बिर्तामोड । झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको छ ।
सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डलाई अवलम्बन गर्दै संजिवनीले बाह्य अतिथिहरु नबोलाई सदस्यहरु मात्रको उपस्थितिमा साधारणसभा सञ्चालन गरेको हो ।
संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको ज्येष्ठ सेयर सदस्य गणेशप्रसाद खरेल र पूर्व अध्यक्ष एवम् सल्लाहकार संयोजक चक्रप्रसाद खरेलले दिपप्रज्वलन गरी संयुक्तरुपमा समुद्घाटन गर्नुभएको थियो ।
साधारणसभामा अध्यक्ष चुडालले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत आर्थिक वर्षको तुलनामा सेयर पुँजी १६ दशमलव ४१ प्रतिशत वृद्धि भएको बताउनु भयो ।
यस्तै निक्षेप बचतमा २१ दशमलव ५६ प्रतिशत, ऋण लगानीमा १० दशमलव ७९ प्रतिशत र जगेडा कोषमा १ दशमलव ८४ प्रतिशतले वृद्धि भएको जानकारी गराउनु भयो ।
जसअनुसार संस्थाको सेयर पूँजी ३ करोड ८६ लाख ६३ हजार २०० पुर्याइएको छ भने निक्षेप बचत ३३ करोड ६ लाख ४६ हजार ३१५, ऋण लगानीमा रहिरहेको ३४ करोड ३६ लाख १४ हजार ५०६ र कोषमा ४ करोड ७ लाख १५ हजार २९४ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संजिवनीले समीक्षा वर्षमा बाह्य ऋण आधाभन्दा बढी घटाएको छ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ३ करोड ७ लाख ९८ हजार ३४६ रुपैयाँ रहेको बाह्य ऋण गत असार मसान्तमा घटाएर १ करोड ४६ लाख ४८ हजार ३७४ रुपैयाँमा झारेको छ ।
संस्थाले समीक्षा वर्षमा ८२ लाख खुद मुनाफा गर्ने लक्ष्य लिएर काम गरेता पनि २४ लाख ३३ हजारमात्र खुद मुनाफा गर्न सकेकोले आफ्ना सदस्यहरुलाई शेयर लाभांस वापत १ दशमलव ५ प्रतिशत र संरक्षित पूँजी फिर्ता कोषमार्फत १ दशमलव ५ प्रतिशत मात्र प्रदान गर्ने भएको छ ।
समीक्षा वर्षमा संस्थाका २८ जना सदस्य परिवारमा आफन्तहरुको देहावसान भएकोले सदस्यहरुलाई काजकिरिया खर्च र १९ जना सदस्यहरु विभिन्न स्वास्थ्य समस्या भई उपचार गराउँदा संजिवनीले ९ लाख ८४ हजार १३० रुपैयाँ सुविधा रकम प्रदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गर्नु भएको साधारणसभा समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक कमला सिवाकोटीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा संस्थाका १० जना सदस्यहरु पुरस्कृत एवम् सम्मानित हुनुभएको थियो । समीक्षा वर्षका असल बचतकर्ता सदस्यहरुमा बिर्तामोड १ का अपेक्षा बुढाथोकी, बिर्तामोड २ का अनामिका प्रधान, बिर्तामोड ५ का नविन मेचे र हल्दिबारी २ का ईश्वरीप्रसाद पराजुलीलाई दोसल्ला ओढाएर नगदसहित मायाको चिह्नो प्रदान गरिएको थियो ।
यस्तै असल ऋण कारोबारी सदस्यहरुमा हल्दिबारी २ का दिलकुमारी राई, बिर्तामोड ४ का विष्णुकुमार चौधरी, बिर्तामोड ९ का धनमाया श्रेष्ठ र भद्रपुर ६ का अशोक शर्मा मिस्त्रीलाई दोसल्ला ओढाएर नगदसहित मायाको चिह्नो प्रदान गरिएको थियो ।
आफ्ना सेयर सदस्यका छोराछोरीले एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरे वापत संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षा पुरस्कार यस पटक ज्ञानु सिवाकोटीका छोरा आर्यन सिवाकोटी र कृष्णप्रसाद उप्रेतीका छोरी पुनम उप्रेतीलाई प्रदान गरिएको छ ।
साधारणसभा समारोहमा उपस्थित सेयर सदस्यहरुलाई संस्थाका कोषाध्यक्ष एवम् शिक्षा उपसमितिका संयोजक शिवबहादुर कटवालले शाब्दिक स्वागत गर्नुभएको थियो ।
हरेक वर्ष झैं संजिवनीले वर्षभर गरेका कामहरुको भिडियो संग्रह गरी साझामञ्च मिडियाले बनाएको डकुमेन्ट्री रिपोर्ट साधारणसभा हलमा प्रस्तुत गरिएको थियो । संस्थाका एक दर्जन हाराहारी सेयर सदस्यहरुको व्यवसायस्थलमा गएर उहाँहरुको कारोबार एवम् संस्थासँगको सम्बन्धका बारेमा उजागर गर्दै संजिवनीले वर्षभर गरेका कामहरु उक्त डकु रिपोर्टमा समावेश गरिएको छ ।