
काठमाडौं । यसपालिको मनसुन शुरू हुनुअघि जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा धेरै पानी पर्ने पूर्वानुमान सार्वजनिक गरेको थियो । तर पूर्वानुमान अनुसार पानी परेन ।
धान रोप्ने मुख्य समयमा पानी नपरेर हाहाकार नै भयो । साउनको दोस्रो हप्तापछि मनसुन थप सक्रिय बनेकाले अहिलेसम्म सरदरको ९० प्रतिशत नजिक पानी परेको छ ।
सामान्यतया मनसुन सक्रिय हुँदा १ हजार ५०० देखि १ हजार ६०० मिलिमिटर वर्षा मापन गरिन्छ । हिजोसम्मको विवरण अनुसार १ हजार १२२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यो देशभरिका १२६ वटा मापन केन्द्रमा मापन भएको वर्षाको औसत हो ।
सरदर वर्षाको तुलनामा ९२ देखि ११० प्रतिशत पानी परेको अवस्थालाई सामान्य वर्षा मान्ने गरिन्छ । मनसुन बाहिरिन अझै २ हप्ता बाँकी रहेकाले सरदर पानी पर्ने मौसमविद्को अनुमान छ । तर सबै ठाउँमा एकनासको पानी परेको छैन ।
मधेश प्रदेशमा वार्षिक सरदरको तुलनामा ६४ दशमलव ५ प्रतिशत मात्रै पानी परेको छ । सुदूरपश्चिमका पहाडी भेगमा ११० प्रतिशतसम्म पानी परेको छ । मापन केन्द्रहरूको तथ्याङ्क हेर्दा यसपालि खण्डित वर्षा भएको विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो । यस्तै पानी जुन समयमा जसरी पर्ने गर्थ्यो त्यो पनि भएन ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यस वर्ष सरदर मितिभन्दा चाँडो भित्रिएकाले चाँडै बाहिरिने अनुमान रहे पनि अहिलेको अवस्था हेर्दा सरदर मितिभन्दा पनि ढिला हुन सक्ने देखिएको मौसमविद्ले बताएका छन् ।
मनसुन सक्रिय रहने भए पनि अबको २ हप्ता मनसुनजन्य विपत्तिको सम्भावना नदेखिएको मौसमविद् विनोद पोख्रेलले बताउनुभयो ।