२०८२ असोज ३, शुक्रवार , ०४:२३:०४ बजे

Sajhamanch
'

क्षति भएका भवन पुनःनिर्माणको नाममा रकम संकलन नगर्न मेचीनगर नगरपालिकाको निर्देशन

शुक्रवार, असोज ३, २०८२

मेचीनगर । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका भवनहरुको मेचीनगर नगरपालिका कार्यालय आफैले पुनःनिर्माण गर्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा भएको तोडफोड र आगजनीका कारण क्षति भएका भवनहरु आफै बनाउने भएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले असोज ३ गते संविधान दिवसका दिन जेनजी आन्दोलनका क्रममा क्षति भएको नगरपालिका कार्यालय र वडा कार्यालयहरुको भौतिक संरचना नगरपालिका आफैले पुननिर्माण गर्ने बताउनु भएको छ।

शुक्रबार नगरप्रमुख बुढाथोकीको हस्ताक्षर रहेको सार्वजनिक सूचनामा क्षति भएका भौतिक संरचना आफै बनाउने उल्लेख रहेको छ । नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुको पुननिर्माण तथा रंगरोगन गर्ने भनेर विभिन्न समूह र व्यक्तिगत रकम संकलन गर्ने कार्य कानुन विपरित छ । त्यस्तो कार्य जो कोहिले गरिरहेको छ भने तत्काल बन्द गर्न सूचनामा भनिएको छ ।

आइतवारदेखि अत्यावश्यक सेवा सुरु

आइतवारदेखि अत्यावश्यक सेवा दिने तयारीका साथ नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको जनप्रतिनिधि र कर्मचारीको टोलीले वडा कार्यालयहरु निरीक्षण गरिरहेको अवस्था छ ।

विहीबार नगरसभा हलमा बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

सम्बन्धित खबर