
पाँचथर । पाँचथरमा लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित भएका छन् ।
लगातारको वर्षासँगै पहिरो खस्दा जोखिममा रहेका ४३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। लगातारको वर्षापछि पाँचथरको याङ्वरक, फालेलुङका गाउँपालिकामा पहिरो खसेको हो ।
याङवरक गाउँपालिका–४ खमोरस्थित एक घरको भुईँतल्लो जमिन भासिँदा पर्खाल भत्किएको छ। घरमा बस्दै आएका तीन जनाको परिवार घटनापछि आफन्तको घरमा बस्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो।
यसैबीच, फालेलुङ गाउँपालिका–५ लुमाङदिनमा माथिबाट पहिरो खस्दा तीन घर उच्च जोखिममा परेका छन्। सो घटनापछि १९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
फालेलुङ गाउँपालिका–३ पाङलेपामा पनि पहिरोका कारण ६ घर जोखिममा परेको छ। सो परिवारका २४ जनालाई सुरक्षित स्थानमा सारिएको डिएसपी बुढाथोकीले बताउनु भयो ।