
झापा । झापामा टेलिफोनको अप्टिकल फाइबर तार चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ जिल्ला पानिट्याङका २४ वर्षीय कार्तिक अधिकारी र सोही ठाउँका ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ति गाउँपालिका सितलवस्तीका २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ का २७ वर्षीय दिनेश परियार र झापा कचनकवल गाउँपालिका–३ डाँगीवारिका ४२ वर्षीय सञ्जय माझी रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बुधवार बिहान ११ बजेको समयमा उनीहरूलाई मेचीनगर–५ नकलबन्दाबाट नेपाल–भारत सीमा हुँदै अप्टिकल फाइबर तार चोरी गरी लैजाने क्रममा पक्राउ गरेका थिए ।
प्रहरीले उनीहरूको साथबाट ५ बोरा फाइबर तार बरामद गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।