
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढका लागि छुटेको ग. २ ख. १८३६ नम्बरको बसमा हिजो बेलुका ढुङ्गाले लागेको थियो ।
इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएको र उहाँको उपचारकाक्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो ।
बस र चालकलाई प्रहरीले पक्राउ गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह छ ।