२०८२ भदौ ३१, मङ्गलवार , ०५:३३:३९ बजे

Sajhamanch
'

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ ।

मंगलबार विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन् ।

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे ।

चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाउँ ठाउँमा सडक विभागसँगको सहकार्यमा डोजर लगायतको व्यवस्था गरिने उनले बताए । पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगायत विभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरे ।

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए ।

यसअघिको वर्षमा घटस्थापनादेखि फूलपातीसम्म अत्याधीक चाप देखिए पनि यस वर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उनले बताए । सिटौलाले यात्रुहरूलाई सेवा दिन यातायात व्यवसायीहरू तयार रहेको भन्दै सरकारका निकायहरू पनि सेवाका लागि तयार रहनुपर्ने जिकिर गरे ।

त्यस्तै यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा भाडादर वृद्धि नहुने र सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने बताए ।

सम्बन्धित खबर