
काठमाडौं । ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
सामूहिक शवयात्रापछि उनीहरूको अन्त्येष्टि गरिएको हो । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिएको हो ।
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याललगायत पनि सहभागी हुनुभएको थियो । मन्त्रीहरू घिसिङ र अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै सशस्त्र प्रहरी बलले मृतकप्रति सलामी अर्पण गरेको थियो ।
गएको भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको पोस्टमार्टमपछि आज परिवारलाई जिम्मा लगाइएको हो । कतिपयको यसअघि नै अन्त्येष्टि भइसकेको छ ।
सरकारले भोलि शोक बिदा दिएको छ । मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ ।