
काठमाडौं । ‘जेन–जी’ को आन्दोलनमा ज्यान गुमाएकाहरूको आज शवयात्रासहित अन्त्येष्टि गरिदैँछ । सामूहिक शवयात्रामा मृतकका परिवार, आफन्त र अन्य सहभागी शोकमग्न भएका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याललगायत पनि सहभागी हुनुभएको छ । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिदैँछ ।
गएको २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको हो । कतिपयको यसअघि नै अन्त्येष्टि भइसकेको छ ।
सरकारले भोलि शोक बिदा दिएको छ । मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ ।