
काठमाडौं । सरकारले उद्योगीहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गर्नुभएको छलफलमा देशलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँहरूले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयोे । सचिवद्वयले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै आवश्यक खाद्यान्नलगायत सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने जानकारी दिनुभयो । उहाँहरूले माग, आपूर्ति र प्रतिकूल प्रभाव पार्नेगरी वस्तु सञ्चित नगर्न/नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकार भएका सबैलाई अनुरोध गर्नुभएको छ ।
मन्त्रालयले आपूर्ति व्यवस्थामा ठूलो असर नपर्ने देखिएकाले वस्तु अनावश्यक रूपमा सञ्चित नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । परिस्थिति सामान्य बन्दै गएकाले निजी क्षेत्रलाई आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ ।