२०८२ भदौ ३१, मङ्गलवार , १०:१४:५४ बजे

Sajhamanch
'

विदेशी मुद्राको सञ्चिति २८ खर्ब ६ अर्ब रुपैयाँ पुग्यो

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार गएको असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको हो ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गएको असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा गएको साउन मसान्तमा चार प्रतिशतले बढेर २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गएको असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गएको साउन मसान्तमा १२ प्रतिशतले बढेर दुई खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ ।

गएको साउन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालू खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता ३३ अर्ब आठ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा २५ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोड रुपैयाँले बचतमा छ ।

सम्बन्धित खबर