
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ ।
नयाँ सरकार गठनसँगै सोमबार उहाँले नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई नागरिकको कामलाई प्राथमिकता दिन आह्वान गर्नु भएको हो ।
नगरप्रमुख थोप्राले नागरिकप्रतिको जवाफदेहिताको कमी, कामकाजमा ढिलासुस्ती र जनप्रतिनिधि तथा कर्मचारीबीचको असमर्थ जिम्मेवारीका कारण आजको परिस्थिति सिर्जना भएको जिकिर गर्दै भन्नुभयो, “मैले सुरुदेखि नै पटक–पटक भनिरहेको छु, कर्मचारीले जहिले पनि पारदर्शी ढंगले काम गर्नुपर्छ ।”
गएको भदौ २४ गते जेनजी विद्यार्थीहरुको कतिपय मागहरु जायज छन् । सरकारका माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारका निकायहरुले गरेका कामकाज जनमुखी नभएका कारण यस्तो परिस्थिति आएको नागरिक समाज र विश्लेषकहरुको पनि भनाई छ ।
उहाँले जनप्रतिनिधि अस्थायी भए पनि स्थायी रुपमा कार्यरत कर्मचारीले राज्य र नागरिक दुवैबाट विश्वास र सम्मान प्राप्त हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा झापाका अन्य पालिकामा ठूलो क्षति पुगे पनि शिवसताक्षी नगरपालिका कार्यालय र वडा कार्यालयहरु तुलनात्मकरुपमा सुरक्षित रहन सफल भएको भन्दै नगरप्रमुख थोप्राले त्यसमा भूमिका खेल्ने जेनजी युवायुवती, नागरिक समाज, राजनीतिक दल र सुरक्षा निकायप्रति विशेष धन्यवाद आभार व्यक्त गर्नु भयो ।
उहाँले आगामी दिनमा शिवसताक्षीलाई पारदर्शी, जवाफदेही र सेवामुखी नगरको रुपमा स्थापित गर्न कर्मचारीको सक्रिय भूमिका अपरिहार्य हुनेमा जोड दिनु भएको थियो ।