
बिर्तामोड । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न सम्बन्धितलाई आग्रह गरेको छ।
आज सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो ।
नगरपालिकाले तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जनाएको छ।
नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको बताउँदै दुःख व्यक्त गर्नुभयो।
आज नगर अस्पतालमा बसेको नगर कार्यपालिकाको बैठकमा उहाँले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।
प्रहरी प्रशासन अभावका कारण तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी टोल विकास समितिहरूलाई समूह बनाएर गस्ती गर्ने गरी व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले आन्दोलनका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन दशैं र तिहारको बीचमा समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य प्रहरी चौकीहरू स्थापना गर्न आवश्यक सहजीकरण गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।
नगरपालिकाले भवनमा आगजनी हुँदा भौतिक संरचना र महत्वपूर्ण कागजात नष्ट भएकाले तत्काल सेवा सुचारु गर्न नसकिने जनाइएको छ । वडा कार्यालयसहितको क्षतिको विवरण संकलन कार्य भइरहेको जनाएको छ ।
कार्यालयमा सरसफाईको काम अब सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी राजन लिम्बु, सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारीसहितको टोलीले क्षतिग्रस्त नगरपालिका कार्यालयको निरीक्षण गरेपछि सरसफाई गर्न लागिएको हो ।