
मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहित ८० जना जनप्रतिनिधिहरु आज सोमबारनगरपालिका कार्यालय प्रवेश गरेका छन् ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधिहरुले भौतिक सामग्रीहरुको व्यवस्थापन बिना पनि जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल गरेको जनाइएको छ ।
छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरुले भदौ २३ र २४ गतेको आन्दोलनबाट सीर्जित समस्याका विषयमा घनिभूत छलफल गर्नुभएको थियो ।
नगरपालिका, वडा कार्यालय र जनप्रतिनिधि तथा कर्मचारीहरुका भवनहरु ध्वस्त भएकाले भौतिक संरचना, विद्युतीय सामग्री, आवश्यक कागजात, कार्यसञ्चालनलाई कसरी सहज बनाएर जनतालाई सहज सेवा दिन सकिन्छ भनेर छलफल भएको थियो ।
अहिले तत्काललाई कार्यालय मार्फत क्यान्सर पीडित, स्वास्थ्य सेवा लगायत अत्यावश्यक विषयमा सिफारिस गरिने बुढाथोकीले जानकारी दिनुभयो ।
उपप्रमुख उप्रेतीले जेनजी आन्दोलनका नाममा अराजक समूहहरुले गरेको तोडफोड, आगजनी र लुटपाटका विषयमा छानविनका लागि पहल गरिने बताउनु भयो ।
वडाध्यक्षहरुले जनताको काममा दिनरात नभनी खटिरहेका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारको विल्ला भिडाउनु र ज्यान मार्ने धम्की दिनु गलत भएको बताए । मेचीनगर २, ४ र १० नम्बरका वडाध्यक्षहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको थियो ।
आजै नगरपालिकामा तोडफोड र आजगनीमा क्षति भएका सामानहरुको मुचुल्का गर्ने काम सुरु भएको छ ।