
फुङलिङ । ताप्लेजुङमा १५ औँ रेडपान्डा (हाब्रे) दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । रेडपान्डा नेटवर्कको सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी रूपमा विश्वमै दुर्लभ मानिएको रेडपान्डाको संरक्षणका लागि विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपान्डाको बासस्थान नजिकै रहेको ११ वटा विद्यालयहरूमा दिवसको अवसरमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
गत भदौ १८ गतेदेखि हालसम्म जिल्लाका चार वटा पालिकाका ११ वटा विद्यालयमा रेडपान्डाको संरक्षण, संरक्षणमा स्थानीयको भूमिका लगायतको विषयमा कविता, निबन्ध, वक्तित्वकला, हाजिरी जवाफ र आर्ट प्रतियोगिता सञ्चालन गरिएको संयोजक राईको भनाइ छ ।
उहाँका अनुसार हाब्रेको बासस्थान रहेको पालिकाहरू फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको हो ।
फुङलिङको मयाम माध्यमिक विद्यालय फुरुम्बु र सरस्वती आधारभूत विद्यालयमा फावाखोला, फक्ताङलुङको सरस्वती माध्यमिक विद्यालय तापेथोक, सिँवा माध्यमिक विद्यालय लिङ्खिम, महेन्द्र आधारभुत विद्यालय लिङ्खिम, च्यारिबुङ माद्यमिक विद्यालय लेलेपमा कार्यक्रम गरिएको मञ्चले जनाएको छ ।
त्यस्तै सिरिजङ्घा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालय सिकैचा, लक्ष्मी माध्यमिक विद्यालय मामाङखे, कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिन, सुदाप आधारभुत विद्यालय मामाङखे र पाथीभरा याङवरक गाउँपालिकाको सिद्धकुमारी आधारभुत विद्यालय तिरिङ्गेमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
मञ्चले जनाए अनुसार विद्यार्थीलाई रेडपान्डा संरक्षण प्रति सचेत बनाउने उद्देश्यले विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको हो ।
जिल्लामा लामो समयदेखि रेडपान्डा संरक्षणका कार्यक्रम सञ्चालन भएसँगै रेडपान्डाको सङ्ख्यासमेत वृद्धि आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । जिल्लामा सन् २०१६ को गणना अनुसार करिब १३४ वटा भन्दा बढी रेडपान्डा रहेको मञ्चले जनाएको छ ।
दिवसकै अवसरमा गत वर्ष मञ्चले फुङलिङदेखि पाथीभरासम्मको म्याराथन प्रतियोगिता सञ्चालन गरेको थियो ।