
काठमाडौं । मधेशको प्राचीन मिथिला क्षेत्रका महिलाले जितिया पर्व मनाएका छन् । यो निराहार व्रत आज बिहान सात बजेपछि समापन भएको मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ ।
हिजो बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मिथिलाका महिलाहरूले निराहार व्रत शुरू गरेका थिए । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । अस्ति शनिवार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन शुरू भएको हुँदा मिथिलाका महिलाहरूले ‘ओगटन’ पछि उपवास शुरू गरेका हुन् ।
पितृपक्षमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सबै नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । जितिया पर्वले नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।