
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज बसेको सरोकारवाला र यातायात व्यवसायीको बैठकले अहिलेको विषम परिस्थिति र चाडपर्वका बेला यात्रालाई सुरक्षित र सहज बनाउन समिति गठन गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा प्रहरीको राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायत छन् ।
बैठकमा प्रदर्शनका कारण एक हप्तादेखि काठमाण्डौसहित विभिन्न ठाउँमा रोकिएका सार्वजनिक गाडीलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । यस्तै बैठकले ढुवानीका मालवाहक गाडीलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भने नगरेको सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो प्राथामिकता अहिले रोकिएका यात्रुलाई दिने निर्णय भएको छ । यस वर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादशैँ परेको छ ।