
काठमाडौं । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ ।
नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।
सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् ।
तीन सदस्यीय मन्त्रिमण्डलको तयारी भए पनि अहिलेसम्म सदस्यहरूका नाम भने गोप्य नै राखिएको छ ।
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।
प्रधानसेनापतिको उपस्थितिमा आन्दोलनरत जेनजी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की एवं राष्ट्रपति रामचन्द्र र उनको टिमका प्रतिनिधि बीचको छलफल केहीबेरअघि टुंगिएको हो ।
अहिले राष्ट्रपति कार्यालय बाहिर पत्रकारहरुको बाक्लो भीड छ ।
सरकार प्रमुखको रुपमा सपथ खाएसँगै कार्कीले मन्त्रिपरिषद् बैठक गर्ने र वर्तमान प्रतिनिधिसभाको विघटन सिफरिस गर्नेसम्मको सहमति भएको जनाइएको छ । र, सिंहदरबारमा तयार गरिएको कार्यालयमा गई पदभार ग्रहण गर्ने जनाएको छ ।
सरकार प्रमुखका रुपमा सुशिला कार्कीलाई अहिले साँझ ९ बजे शितल निवासमा सपथग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।