
बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ । जेन जी आन्दोलनका क्रममा सोमबार १९ जनाको ज्यान गएपछि आक्रोसित युवाले आज बिहानैबाट बिर्तामोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
बिर्तामोडको मुक्तिचोक क्षेत्रमा आगजनी गर्दै सडक पूर्ण रुपमा अवरुद्ध गरिएको छ । करिब ५०० जनाको समूहमा रहेका आन्दोलनकारीले नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी गरेका छन् । एमाले पार्टी कार्यालयमा दनदनी आगो बलिरहेको छ तर त्यहाँ न दमकल पुगेको छ न त सुरक्षाकर्मीहरु नै पुगेका छन् ।
यो समाचार तयार पारिरहँदा आन्दोलनकारीहरुले नेपाली कांग्रेसको महानन्दचोकस्थित जिल्ला कार्यालय प्रवेश गरेर सामानहरु बाहिर फ्यालिरहेको भिडियो सामाजिक सञ्जालका प्रसार भइरहेको छ ।
भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका जेन जी विरुद्ध सरकारले घातक रुपमा बल प्रयोग गरेपछि आन्दोलनले उग्र रुप लिएको छ । झापा प्रशासनले बिहान १०ः३० बजेदेखि समूहमा भेला हुन, जुलुश गर्न रोक लगाएको भए पनि त्यसलाई वेवास्ता गर्दै आन्दोलकारीको समूह राजनीतिक दलका कार्यालय, पालिका र नेताको घर ताकिरहेको उनीहरुको सम्वादमा सुन्न पाइन्छ ।