२०८२ भदौ २३, सोमवार , ०३:२७:०९ बजे

Sajhamanch
'

झापाको दमकमा जेन-जी आन्दोलनमा चल्यो रबरको गोली, एक जना घाइते

सोमवार, भदौ २३, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भिड अनियन्त्रित बन्दै गएपछि प्रहरीले हस्तक्षेपस्वरूप गोली चलाएको हो । स्थानीयका अनुसार प्रहरीको गोली लागेर झापाको कमल–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेरासमेत तोडफोड गरेका थिए ।

झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भिड नियन्त्रणबाहिर गएपछि हवाई फायर गरेको जानकारी आएको बताएका छन् । उनले थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको र अवस्था पूर्ण रूपमा यकिन भइनसकेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर