२०८२ भदौ २३, सोमवार , ०१:५५:०७ बजे

Sajhamanch
'

आज ५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

सोमवार, भदौ २३, २०८२

काठमाडौं । ‘डिजिटल युगमा साक्षरताको प्रवर्द्धन भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । अन्तर्राष्ट्रिय साक्षरता दिवस हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन मनाइन्छ । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो ।

सरकारले २०६५ सालमा निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान शुरु गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार अहिलेसम्म ७७ मध्ये ६६ जिल्ला साक्षर घोषणा गरिएको छ । १० जिल्ला अझै साक्षर घोषणा हुन बाँकी छन् ।

बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् । घोषणा हुन बाँकीमा मधेश प्रदेशका आठ जिल्ला, कर्णालीका कालिकोट र डोल्पा रहेका छन् । राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.२ प्रतिशत पुगेको देखाएको थियो ।

२०७८ को जनगणना अनुसार झन्डै ७० लाख बालबालिका विद्यालय भर्ना भएका छन् । महिलाको तुलनामा पुरुषको साक्षरता दर माथि देखिन्छ । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ ।

देशभरबाट निरक्षरता उन्मुलन गर्ने गरी देशव्यापी रूपमा साक्षरता अभियान सञ्चालन भएको डेढ दशक बितिसक्दा पनि लक्ष्य भटाउन सकिएको छैन । कुल जनसङ्ख्याको न्यूनतम ९५ प्रतिशत साक्षर भएका जिल्ला, पालिका वा प्रदेशलाई साक्षर घोषणा गर्न सकिने विश्वव्यापी अभ्यास छ ।