२०८२ भदौ २३, सोमवार , १०:४३:३१ बजे

Sajhamanch
'

काठमाडौंसँगै झापामा पनि जेनजी पुस्ताको प्रदर्शन, मुक्ति चौकदेखि बिर्ताबजारसम्म कार्यक्रम

सोमवार, भदौ २३, २०८२

झापा । काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले आयोजना गर्न लागेको प्रदर्शनसँगै झापामा पनि युवाहरूले आज प्रदर्शन गर्ने भएका छन्।

काठमाडौंमा हुने प्रदर्शनमा सहभागी युवाहरूले ११ बजेतिर माइतीघरबाट मार्च पास गर्दै नयाँ बानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरिएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिइसकिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न रोकावट नरहेको स्पष्ट पारेका छन्।

यस्तै झापामा युवाहरूले आज ११ बजे बिर्तामोडस्थित मुक्ति चौकमा भेला भएर मार्च पास गर्दै बिर्ताबजारस्थित बिर्तामोड नगरपालिकाको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन्। उनीहरूले साँझ ४ बजे पुनः मुक्ति चौकमै आएर प्रदर्शन समापन गर्ने तयारी गरेका छन्।

जेनजी पुस्ता भन्नाले सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवालाई जनाइन्छ। उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध आवाज उठाउँदै आएको र यही मागसहित देशभर प्रदर्शनको तयारी भइरहेको बताइएको छ।

सुनसरीको इटहरीसहित विभिन्न स्थानमा पनि आज जेनजी पुस्ताले प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

सम्बन्धित खबर