
झापा । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देशैभरिमा उत्कृष्ट कर्मचारीको रुपमा १ लाख नगद पुरस्कारसहित मिश्र सम्मानित हुनुभएको हो ।
सरकारले प्रत्येक वर्ष निजामती क्षेत्रका विभिन्न उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ । त्यस अन्तर्गत यसपटक १० जनालाई उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत गरिएको जनाइएको छ ।
त्यसैगरी ५० हजार राशिको निजामती पुरस्कारबाट ३० जना कर्मचारी पुरस्कृत भएका छन् ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा उप प्रधानमन्त्री प्रकाशमान सिंह रहनुभएको थियो । सो कार्यक्रमको विशेष अतिथिको रुपमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने रहनुभएको थियो ।
उत्कृष्ट राष्ट्रसेवकको रुपमा पुरस्कृत स्थानीय तहका बारेमा विशेष अनुभवी तथा इमानदार कर्मचारीको रुपमा चिनिनु हुन्छ । २०५७ सालदेखि सरकारी सेवा प्रवेश गरी विभिन्न जिल्ला र क्षेत्रमा कार्य अनुभव बटुलिसक्नु भएको मिश्रले प्रशासन कार्यालय झापा र कालिकोट, डोल्पा साथै भुटनिज शरणार्थी शिविरमा समेत सरकारी सेवा गरेर ख्याति कमाउनु भएको छ ।