
- गोपाल काफ्ले
म स्वयम्मा कुनै समीक्षक वा समालोचक होइन । तर नेपाली साहित्यमा उपलब्ध कृतिहरु पढिसकेपछि केही लेखुँ लागिहाल्छ । समयले साथ दियो भने केही हरफ मनको भाव वा पुस्तकप्रतिको प्रतिक्रिया जनाउनु कर्तव्य ठान्दछु । यहीक्रममा पत्रकार लक्ष्मण वियोगीको कथा संग्रह ‘सत्यम्’ हिजोमात्र पढिसिध्याएँ । अस्ति जेठ २४ गते पुस्तक विमोचन समारोहमा म पनि बोलाइएको थिएँ । तर जान पाइँन । लेखकले मलाई सम्बोधन गरेरै पुस्तक ‘भेट’ पठाउनु भएको रहेछ । कथा संग्रह पाएर पढिसकेपछि आज टिप्पणीका रुपमा केही लख्नुलाई मैले कर्तव्यकै रुपमा पनि लिएको छु ।
मैले जीवनकालभरि नटेकेको भूगोल स्याङ्जा जिल्लाका गाउँ बस्तीहरुको परिवेशलाई टपक्कै टिपेर सत्यम्मा धेरैजसो कथाहरु सिर्जना भएका रहेछन् । यसैले कतिपय कुराहरु भाषिक दृष्टिकोणले पनि म पूर्वेलीले जान्न सकिन । यद्यपी ‘फुटनोट’मा उल्था गरिदिएकाले केही सहज चाहिँ भयो । यस पुस्तकमा मुलतः माओवादी द्वन्द्वकालीन घटनाहरूको मार्मिक रूपमा प्रस्तुति गरेर दूरदराजमा द्वन्द्वको असर कस्तो थियो भन्ने पनि अनुभूत गर्न पाइयो । समग्रमा यो संग्रहका १५ वटै कथा सामाजिक यथार्थलाई संवेदनशील र कलात्मक रूपमा प्रस्तुत गरिएका छन् भन्न सकिन्छ ।
धेरैजसो कथाका शीर्षकहरुले सांकेतिक अर्थ दिएको मेरो बुझाई छ । म कथाको नविनतम पाठक भएर हो वा स्रष्टाको सांकेतिक भावले हो कथाका शीर्षकहरुले पाठक अल्मलिन सक्छन् । यतिमात्र होइन, कृतिको नाम ‘सत्यम्’ किन रह्यो भन्ने कुरा पनि कतै केलाइएको पाइएन, केवल एउटा कथामा ‘सत्यम्, शिवम्, सुन्दरम्’ उल्लेख भए बाहेक । सबै सत्य घटनाहरुलाई कथामा उतारेर ‘सत्यम्’ सिर्जना गरेको उहाँको भाव हो भने पाठकले चाहिँ नबुझ्न सक्छन् ।
कथाकार वियोगी पेसाले पत्रकार हुन् । तर उहाँका कविता र गीत पनि प्रसस्त सुन्न पाइन्छ । पहिलो कृतिका रुपमा प्रकाशित सत्यम पढिसकेपछि वियोगीले नेपाली साहित्यिक क्षेत्रमा यो एउटा सशक्त कोसेली पस्किएको मलाई आभाष भएको छ । उहाँले हाम्रो समुदायका बिम्ब र प्रतिबिम्बहरुलाई कथामा उतारेर नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको पाइन्छ ।

लक्ष्मण वियोगीको ‘सत्यम्’
स्याङ्जा जिल्लाका साविक माझकोट र मनकामना गाविस भएर बग्ने मिर्दीखोलो, अर्मादी खोलो तथा तिनै ठाउँका अनेकन दृश्य समेटेर कथा बुनिए पनि पाठकलाई त्यहीँ घुमिरहेको वा आफ्नै आँखाले प्रत्यक्ष हेरिरहेको भान पार्न ‘सत्यम्’ सफल भएको छ भन्दा अन्यथा हुँदैन । ‘सत्यम्’ले द्वन्द्वकालमा कुमेरदुङ सिद्धथान मन्दिरको द्वन्द्व, मनकामना गहतेमा निहत्था नागरिकसहित मारिएको घटना, माझकोट र खाल्टेमा दाजुभाइ दिदीबहिनी मारिएको हृदयविदारक यथार्थलाई बल्झाइ दिएको छ । यतिमात्र होइन, तत्कालीन समयका पिडीतलाई झस्काउने माओवादी द्वन्द्वको कालोछायाँ कथाको विषयवस्तु छ ।
वियोगीका कथाहरुमा द्वन्द्वकालका पीडाहरुमात्रै छैनन्, उमेरजन्य प्रेमिल कुराहरु पनि प्रसस्तै भेटिन्छन् । कुनै कथामा तराईका चौधरी अनि कुनैमा पहाडको ग्रामीण परिवेशका विभिन्न समुदायको पे्रमिल जीवनका रसिला सम्वादहरु पनि पाइन्छन् । ‘हिउँखोलाको आलाप’की पात्र जुमा शेर्पा, ‘छुटेका पानीहाँस’ की निलिमा राई हुन् वा ‘मनफूल झरेपछि’की सेती, यी पात्रहरुसँग कथाकारले रसिला प्रेमालाप गराएका छन् । तर सबै वियोगान्त नाटकमा जस्तो अन्तिम सत्य एकता नभई विछोडमा टुंगिएको पाइन्छ । प्रयुक्त प्रेम सम्वाद र कथाको अन्त्य विछोडमा टुङ्गिनुको तात्पर्य कथाकार नै ‘वियोगी’ भएर त पक्कै नहोला कि !
वियोगीको यो कथा संग्रह सत्यमलाई समाजशास्त्रीय सिद्धान्तमा आधारित साहित्यिक दस्तावेज भन्दा पनि फरक नपर्ला । किनकि यस कथा संग्रहमा नेपाली समाजका तहतहमा गडिएर रहेका पीडा, द्वन्द्व, विस्थापन, भिन्नता र स्वाभिमानलाई कलात्मक तरिकाले कथाकारले उजागर गर्नुभएको छ । पहाडका गुरुङ समुदायको लोकसंस्कृति परम्परागत मान्यताहरु अनि मधेशका थारु समुदायका रितिरिवाजहरुलाई कथामा जीवन्त उतार्दै उनीहरूको हाँसो, आँसु र विद्रोह पाठकमाझ पस्किइएको छ ।
वियोगीका कथाहरू पढिसकेपछि मलाई लाग्छ उहाँ पारङ्गत कथाकार हो । मुर्धन्य साहित्यकार एवम् स्रष्टाहरुका अगाडि उहाँको उचाई सानै होला । तर ‘सत्यम्’ले साहित्यिक कद उँचो बनाइदिएको छ । समालोचकहरु कथाकार वियोगीलाई ‘सम्वेदनशील यथार्थवादी लेखक’को रूपमा परिचय गराउन प्रयासरत छन् । पहिलो कथा संग्रहबाटै वियोगीले यस्तो उपमा पाउने सम्भावना जीवित छ । किनकि ‘सत्यम्’ केवल कथा संग्रहमात्र होइन, यो त समयको दस्तावेज बनेको छ । जसमा लेखिएको सत्य केवल वस्तुगत होइन, अनुभूतिजन्य, संवेदनशील र जीवन्त सत्य देखिन्छ ।