२०८२ भदौ २२, आइतवार , १२:४९:४४ बजे

Sajhamanch
'

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

आइतवार, भदौ २२, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुनेछ ।

उहाँले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप काँधमा बोकी दिगु भैरवलाई तीनपटक परिक्रमा गरेपछि निगु पुखुः, लाय्कू हुँदै जात्राको परम्पराअनुसार क्वालाखु (बालकुमारी) थास्मा गणेशको दर्शन गर्ने व्यवस्था गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा छ । पहिलो बिस्काः जात्राका अवसरमा हरेक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ । दुवै जात्राको आ–आफ्नै विशेषता छ ।

यसैबीच आज भदौ शुक्ल पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी)मा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट सिद्धपोखरीमा ठूलो मेला लाग्ने गर्छ । इन्द्रजात्राको दिन बेलुका इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पुर्याइएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्न आज भक्तजनको भीड लागेको हो ।

सम्बन्धित खबर