२०८२ भदौ २१, शनिवार , ०८:२९:१६ बजे

Sajhamanch
'

एमालेको संगठित सदस्य संख्या ६ लाख ६२ हजारभन्दा बढी, कुन तहमा कति जनालाई जिम्मेवारी ?

शनिवार, भदौ २१, २०८२

ललितपुर । नेकपा (एमाले)को पछिल्लो नविकृत पार्टी सदस्यहरुको संख्या ६ लाख ६२ हजार ९६१ जना रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पार्टी सदस्यहरु प्रस्तुत संख्या १०औं महाधिवेशन पछि ३० प्रतिशतले बृद्धि भएको बताइएको छ ।

महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। पोखरेलले प्रतिवेदन पेश गर्दैै पार्टी अहिले ६४ हजार ७६ कमिटीमा फर्मेशन रहेको जानकारी पनि दिनुभयो।

कतिपय जनसंगठनहरुको संख्या यकिन तथ्याङ्क अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १६१ सदस्य रहेको तथ्य महासचिवले पेश गर्नुभएको छ।

डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको महासविच पोखरेलले बताउनुभयो। कूल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध रहेका छन्।

प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेका छन्। त्यसैगरी, वडा कमिटी ७ हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको तथ्याङ्कमा उल्लेख छ।

प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी रहेको छ। त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजा १०१ रहेको छ। कोशी प्रदेशमा कूल ८ हजार ४०८ कमिटी रहेका छन्।

त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १३६ पालिका, १ हजार २७१ वडा, ६ हजार ५१५ टोल कमिटी गरी कूल ७ हजार ९३० रहेका छन्।

बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, १ हजार १२१ वडा, १४ हजार २०६ टोलसहित कूल १५ हजार ४५१ कमिटी छन्।

गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, ५ हजार ५६० सय टोल गरी कूल ६ हजार ४१५ वटा कमिटी छन्।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १०९ पालिका, ९८३ वडा, ९ हजार २६७ टोल गरी कूल १० हजार ३७१ वटा कमिटी रहेका छन् ।

महासचिव पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख भए अनुसार कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका कमिटी, ७१८ वडा कमिटी र ६ हजार ४५३ टोल कमिटीसहित कूल ७ हजार २६० वटा कमिटी रहेका छन् ।

सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५ हजार ८५० टोलसहित कूल ६ हजार ६८१ कमिटी रहेको जनाइएको छ।

त्यसैगरी समन्वय सम्पर्क अन्तरगत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी कूल ८२४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन्।

प्रवासी नेपाली मञ्चमा ५ वटालाई जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कूल १११ कमिटी बनाइएको छ । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी कूल ५६७ कमिटी रहेको उल्लेख छ।

तथ्याङ्कहरुलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्तालाई कमिटेड गराइएको छ । पालिका तहमा ४१ हजार ६३३ जना, वडामा १ लाख ७४ हजार २४५ जना र टोलमा २ लाख १ हजार ३६४ जना कमिटेड रहेका छन्।

सार्वजनिक प्रतिवेदनमा कुल सदस्यमध्ये पुरुष सदस्यको सङ्ख्या ४ लाख ५७ हजार १४५ र महिलाको सङ्ख्या २ लाख ५ हजार ८१६ जना रहेका उल्लेख छ।

लुम्बिनी प्रदेशका ८० हजार ३५२, सुदूरपश्चिम प्रदेशका ६३ हजार ११० र गण्डकी प्रदेशका ५५ हजार ५१२ जनाले एमालेको संगठित सदस्यता लिएका छन्। उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१ सदस्य रहेको एमालेले सम्पर्क शीर्षकमा १३ हजार ७५२ सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

यस्तै एमालेले भारत (प्रवास)मा १ हजार २६७ पुरूष र ४७६ महिला गरी १ हजार ७५२ जना, प्रवास (तेस्रो मुलुक)मा ३ हजार ७०० पुरूष र ९३० महिला गरी ४ हजार ६२० सदस्य रहेका जनाएको छ।

प्रतिवेदनमा केन्द्रीय कार्यालयमा १८५ महिला र ६६५ पुरूष गरी ८५० संगठित सदस्य रहेका पनि उल्लेख छ।