२०८२ भदौ २०, शुक्रवार , १२:४२:०६ बजे

Sajhamanch
'

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

शुक्रवार, भदौ २०, २०८२

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ स्थित होम्ताङका स्थानीयवासीले परम्परागत सीपमार्फत नाङ्लो बुनेर राम्रो आम्दानी गरिरहेका छन्। यो पेसा अहिले उनीहरूको भरपर्दो आम्दानीको स्रोत बनेको छ।

गाउँका अधिकांश घरपरिवार यो पेसामा संलग्न छन्। स्थानीयले घरमै बाँसको नाङ्लो बुनेर तयार पार्छन् र त्यसलाई ठेकेदारहरू घरमै आइ संकलन गर्छन्। दसैँ, तिहार, छठजस्ता चाडपर्वका समयमा विशेषगरी तराई क्षेत्रमा यसको माग अत्यधिक हुने भएकाले भदौ, असोज र कात्तिक महिनामा उत्पादन झनै बढ्ने गरेको छ।

महिला र पुरुष दुवै जनशक्ति यो पेसामा सक्रिय छन्। स्थानीय पूजा राईका अनुसार, उहाँको परिवारका सबै सदस्य नाङ्लो बुन्ने काममा लागिपरेका छन्। उहाँले एक महिनामा करिब १५० वटा नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने बताउनुभयो। घरमै उत्पादित नाङ्लो प्रतिगोटा रु. ११० देखि १२० मा बिक्री हुने गर्दछ।

होम्ताङको साविक वडा नं. १ को लङ्खा, वडा नं. २ को विथारा, वडा नं. ३ को लुम्बुवा र साविक वडा नं. ४ को सोयागाउँ गरी हालको हतुवागढी–५ र ६ अन्तर्गत करिब ४१५ घरपरिवार व्यावसायिक रूपमा नाङ्लो बुनेर आम्दानी गरिरहेका छन्।

स्थानीय व्यवसायी राजेन्द्र राईका अनुसार यहाँबाट उत्पादित नाङ्लोहरू भारतसहित पश्चिम नेपालका विभिन्न जिल्लामा पठाइन्छ। उहाँले यो पेसालाई अझ व्यावसायिक बनाउन राज्यको सहयोग र प्रोत्साहन आवश्यक रहेको धारणा राख्नुभयो।

अर्का व्यवसायी प्रकाश राईले स्थानीय सरकारको ध्यान र सहकार्यमार्फत नाङ्लो व्यवसायलाई अझ व्यावसायिक बनाउँदै उत्पादन र आम्दानी दुवैमा वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो।

“गाउँका अधिकांश नागरिक यो पेसामा संलग्न छन्,” उहाँले भन्नुभयो, “यसबाट गाउँमै मनग्य आम्दानी भइरहेको छ। अब स्थानीय सरकारले यसलाई प्रोत्साहन गरेर अझ व्यवस्थित बनाउनुपर्ने समय आएको छ।”

सम्बन्धित खबर