
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि शौचालयको फल्स गर्दासमेत आवाज कम गर्ने उपाय अपनाउन आग्रह गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना निकालेर शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि भन्दै राति अबेर शौचालयको फल्स गर्दा कम आवाज निस्कने उपाय अपनाउन आग्रह गरेको हो ।
हिजोदेखि शान्त तथा अवरोधमुक्त छिमकी अभियान शुरू गरेको कार्यालयले ५ वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको हो । प्रहरीले राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी लगाउने काम नगर्न पनि आग्रह गरेको छ ।
फोन कल गर्दा आवाज कम गर्न, हेडफोन प्रयोग गर्न, अबेरसम्म ठूलो स्वरमा गफ नगर्न, भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न पनि प्रहरीको अनुरोध छ ।
प्रहरीले राति गेट ढकढकाउने वा घण्टी बजाउने काम नगर्न, बिहानको नित्यकर्म गर्दा अनावश्यक खोक्ने तथा खकार्ने काम नगर्न आग्रह गरेको छ ।
ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खासगरी गर्भवती महिला, मुटुरोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको प्रहरी कार्यालयले जनाएको छ ।