
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो ।
युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले आउँदो असोज १२ गतेदेखि चार वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले जनाएको छ । भुटान एयरलायन्स १२६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ ।
यो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बताउनुहुन्छ । यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
यसअघि गएको असार सात गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ ।
पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दुहुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ ।
कूल तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यो विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।