२०८२ भदौ १८, बुधवार , ०९:०१:१४ बजे

Sajhamanch
'

‘निर्वाचित सभापतिले सबै कार्यकर्तालाई समान व्यवहार गर्नुपर्छ’ : डा. कोइराला

बुधवार, भदौ १८, २०८२

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी राजनीति चेन अफ कमाण्डबाट सञ्चालन हुनुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडमा आयोजित दैनिक उपभोग्य बस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले यस्तो बताउनु भएको हो ।

उहाँले निर्वाचित सभापतिले सबै कार्यकर्तालाई समान व्यवहार गर्नुपर्ने औंल्याउनु भयो ।

चिकित्सा पेशामा रहँदा आफूले एकलाख मानिसको आँखाको शल्यक्रिया गरेर संसार देखाउँदा पाएको सन्तुष्टि अरु केहीले दिन नसक्ने बताउँदै डा. कोइरालाले राजनीतिमा भाषण, काम र परिणाम फरक हुने अनुभूति गरेको सुनाउनु भयो ।

नेपालका १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई खान पुग्ने अन्न उत्पादन हुने भएपनि उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको उहाँको भनाई थियो ।

कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन सरकारले विशेष योजना ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला अत्यन्तै दुरदर्शी र संवेदनशिल नेता भएको चर्चा गर्दै उहाँले आफ्नो जीवनका प्रेरक प्रसङ्गहरु जोड्नुभएको थियो ।

नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङ्देम्बेले उपभोक्ताका आवाजहरू संकलन गरी केन्द्रीय छलफलमार्फत सरकारसम्म पु¥याइने बताउनुभयो ।

२०८३ मंसिर भित्रै पार्टीको महाधिवेशन हुने बताउँदै उहाँले पार्टीको क्रियाशिल सदस्यता नवीकरणलाई समयमै सक्न निर्देशन दिनुभयो । नेपाली कांग्रेस तीनै तहमा सबैभन्दा ठूलो दल बनेकोमा कांग्रेस कार्यकर्ताले गर्व गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा उर्जामन्त्री दिपक खड्काले जनता र पार्टी अनि सरकार बीचको सम्बन्ध प्रगाढ हुनु आवश्यक रहेको बताउनुभयो । अस्थिर सरकारका कारण थिलथिलो भएको अर्थतन्त्र र राजनीतिलाई अघि बढाउन संयुक्त सरकार बनेको उहाँको भनाई थियो ।

सरकार निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तयार रहेको र गरिरहेको बताउँदै उहाँले ‘लोडसेडिङ नभएको र ट्रीपिङ मात्र भएको हो’ भन्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मिन विश्वकर्माले उपभोक्ता, उत्पादक र विक्रेताको अभिभावक राज्य भएकाले यी तीनै पक्षबीच सन्तुलन कायम राख्न पहल गर्नुपर्ने बताउनुभयो ।

खुलानाकाका कारण आयात प्रणाली अब्यवस्थित रहेको बताउँदै नेता विश्वकर्माले खाद्यान्नमा मिसावट, तरकारी–फलफूलमा विषादीका कारण दीर्घरोग लाग्ने गरेको बताउनुभयो ।

खाद्यान्नमा भएको मिसावट जाँचका लागि पर्याप्त मात्रामा ल्याव नभएको बताउँदै नियमनकारी निकाय प्रभावकारी नरहेको उहाँको टिप्पणी थियो ।

उपभोक्ता सचेत भएर उत्पादनको गुणस्तर जाँचमा सरकार सचेत भएमात्रै उपभोक्ता अधिकार सुनिश्चित हुने उहाँको भनाई थियो ।

विभागका संयोजक गुरु बरालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गर्नुभएको थियो ।

सम्बन्धित खबर