
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।
हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।
वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उहाँ चिन्तित हुनुहुन्छ ।
अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हुनुपर्नेमा उहाँको जोड छ ।