२०८२ भदौ १७, मङ्गलवार , ०५:३२:४५ बजे

Sajhamanch
'

शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर २ हजार ७४१ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै २ प्रतिशतले ओरालो लागेको छ । आज २२१ वटा कम्पनीको शेयर घटेकोमा २९ वटाको बढेको छ ।

आज उन्नति सहकार्य लघुवित्त र दोर्दीखोला जलविद्युत् कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १० करोडको कारोबार भएकोमा आज ३२३ वटा कम्पनीका १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।