
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका विस्थापित नागरिक अझै घर फर्कन सकेका छैनन् । बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् ।
डुबानमा परेका २१८ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो क्रममा रहे आज साँझसम्म विस्थापित परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । वडा नम्बर ८ का ७० जना, वडा नम्बर ३ का ५५ जना, वडा नम्बर १० का ४० जनालाई विभिन्न विद्यालयमा राखिएको छ ।
त्यसैगरी सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बीओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।