२०८२ भदौ १८, बुधवार , ०१:५६:०७ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । हिजो अबेर भएको भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको थियो ।

त्यसपछि झन्डै आधा घण्टा उहाँहरूबीच एक्लाएक्लै छलफल भएको थियो । छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाई राष्ट्रपति पुटिनले भेट्नुभएको थियो ।

भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धतत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिनुभएकामा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गर्नुभयो ।

उहाँहरूबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको थियो ।

सम्बन्धित खबर