
काठमाडौं । भूटानमा भएको साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ ।
४ वटा देश सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो । डबल राउन्ड लिगमा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टोली भूटानलाई २–१ ले हराएको थियो अन्तिम खेलमा भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै नेपालले भारतसँग ७–० र ५–० तथा बङ्गलादेशसँग ३–० र ४–१ गोलको हार बेहोरेको थियो ।
प्रतियोगितामा अङ्क तालिकाको शीर्ष स्थानमा रहेर भारतले उपाधि जित्यो । यस्तै बङ्गलादेश दोस्रो स्थानमा रहँदा भूटान पुछारमा रह्यो । भारतले यसअघि सन् २०१८ र २०१९ मा पनि साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिपको उपाधि जितेको थियो ।