
कञ्चनपुर । कञ्चनपुरमा बाढीका कारण झन्डै ४ दर्जन परिवार विस्थापित भएका छन् । लगातार वर्षापछि जोगबुडा नदीमा आएको बाढीका कारण १२५ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
प्रहरीका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ रामपुरेटापुमा २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बाढीका कारण घर डुबानमा परेपछि उनीहरूलाई सोमबार बिहान सुरक्षित स्थानमा लगिएको हो ।
यसैगरी, सोही पालिकाको वडा ३ स्थित पटेराखल्लाका १५ परिवार पनि डुबानमा परेका छन् । १५ परिवारका ५५ जना र पशु चौपाया तथा सरसामान सहित उनीहरूलाई जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको प्रनाउ बोहराले बताउनुभयो ।
लगातारको बाढीका कारण भीमदत्त नगरपालिका ११ स्थित भुलेजा खोलामा आएको बाढीका कारण भुजेकाका पनि पाँच घर डुबानमा परेको प्रनाउ बोहराले बताउनुभयो ।
उनीहरूलाई सरसामान सहित घरको छतमा राखिएको उहाँले बताउनुभयो । लगातारको वर्षाका कारण महाकाली नदीमा पनि पानीको बहाव निरन्तररुपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो १२ बजेको मापन अनुसार, महाकालीमा पानीको बहाव १ लाख ५१ हजार ९८ क्यूसेक पुगेको प्रनाउ बोहराले जानकारी दिनुभयो । महाकाली नदीमा पानीको बहाव बढेपछि ठुवा सवारी साधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।