२०८२ भदौ १६, सोमवार , १२:००:४५ बजे

Sajhamanch
'

कैलाली र कञ्चनपुरसहितका केही जिल्लामा बाढीको जोखिम

सोमवार, भदौ १६, २०८२

काठमाडौं । कञ्चनपुर, बाँके, डडेल्धुरा, बैतडी, दार्चुला, सुर्खेत, दाङलगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कञ्चनपुरसहित केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा कञ्चनपुरको दोधारामा १९२ मिलिमिटर पानी परेको छ । कञ्चनपुरको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै दार्चुला, डडेल्धुरा, बझाङ, बैतडी, डोटी, बाजुरा, अछाम र हुम्लामा पनि बाढी आउन सक्ने महाशाखाले जनाएको छ । दोलखा, सिन्धुपाञ्चोक, रामेछाप, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुरमा पनि बाढीको जोखिम रहको महाशाखाको भनाइ छ । गोरखा, लमजुङ, तनहुँ र बर्दियामा पनि बाढी आउन सक्ने भएकाले खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा र बाँकी तराई भूभागका एक/दुई ठाउँमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर