
काठमाडौं । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको दोधारामा १३५ मिलिमिटर तथा पछिल्लो १२ घण्टामा कास्कीको लुम्लेमा १२९ मिलिमिटर र ताप्लेजुङको लुङथुङमा १०३ मिलिमिटर पानी परेको छ ।
डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ । रामेछापको खिम्ती खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज बागमती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो र अरू प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।