
झापा । नेकपा एमालेबाट निर्वाचित झापाका वडाध्यक्षहरुले अनुभव साटासाट गर्नुभएको छ । वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गर्नुभएको हो ।
नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतबार बिर्तामोडमा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो वडामा गरेका उत्कृष्ट काम र समस्याहरुको बारेमा अनुभव सुनाउनु भएको हो ।
कार्यक्रममा पालिका–पालिकाको समूह बनाएर सामुहिक रुपमा काम र समस्याहरु राख्दै एक अर्काबीच अन्तर संवाद गरिएको थियो ।
अधिकांश वडाध्यक्षहरुले वडाको दैनिक कार्य र औपचारिक कार्यक्रमहरुले जनताको बीचमा जान कठिनाई भइरहेको औंद्ययाउनु भयो । कर्मचारी जस्तो बस्नैपर्ने, काम गर्नैपर्ने वडाध्यक्षको समेत भूमिका हुँदा जनताको बीचमा सोचे अनुसार जान नसकेको उहाँहरुको धारणा थियो ।
बजेटको अपर्याप्त र विकासको माग धेरै हुने समस्याले वडाध्यक्षहरु समस्यामा रहेको उहाँहरुको भनाई थियो । यस्तै, फोहोरमैला व्यवस्थापनमा पनि कठिनाई भइरहेको वडाध्यक्षहरुको गुनासो छ ।
अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले पार्टी कार्यक्रम र जनप्रतिनिधि बीचको अन्तर सम्बन्ध बारे सहजीकरण गर्नुभयो । उहाँले वडाध्यक्षहरुलाई योजनावद्ध काम गर्न सूझाव पनि दिनु भएको छ ।
हरेक कामको योजना बनाउनुपर्ने भन्दै ओलीले योजना निर्माण गरेर गरिने काममा सफलता हासिल गरिने बताउनु भएको थियो ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले आगामी निर्वाचनका सन्दर्भमा सहजीकरण गर्दै वर्तमान वडाध्यक्ष नै समाजको ऐना भएको बताउनु भयो ।
उहाँले अहिलेको जनप्रतिनिधिको कामले नै २०८४ मा परिणाम हात पर्ने धारणा राख्नुभयो । उहाँले भूमि समस्याका बारेमा समेत वडाहरुको दायित्वका बारेमा सहजीकरण गर्दै उत्कृष्ट सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो ।
अध्यक्ष गिरीले जनताको भरोसा नै एमालेसँग भएकाले सोही अनुसारको काम गर्न सूझाव दिँदै जनताको आशा र भरोसा नै एमालेसँग छ, त्यो भरोसा तपाईहरुले पुरा गर्नुपर्छ’ भन्नुभयो ।
भुमि समस्या समाधान आयोग झापाको सदस्य रेणुका भुर्तेलले धनीपुर्जा वितरणको प्रगति, आवश्यक प्रक्रियाका बारेमा अवगत गराउनु भयो । उहाँले वडा तहबाट धनीपुर्जा वितरणका लागि आवश्यक सहयोग गर्न सूझाव पनि दिनुभयो ।
स्थानीय विकास विभागका प्रमुख शिव ढुङगेलले वडाध्यक्षहरुलाई वडाको कार्यसम्पादनमा सहयोग गर्ने उद्देश्यले अन्तरसंवाद गरिएको जानकारी दिनुभयो । वडामा काम गर्ने सन्दर्भमा धेरै किसिमका प्राविधिक र प्रक्रियागत कठिनाईहरु हुने भएकाले आवश्यक सहजीकरण गरिएको उहाँको भनाई थियो ।
विभागका सचिव नगेन्द्रप्रसाद संग्रौलाले सञ्चालन गरेको अन्तर संवाद कार्यक्रममा स्कूल विभागका सचिव विजय तिम्सिनाले वडामा आइपर्ने अवरोध र प्रचार विभागका सचिव प्रदीप परियारले प्रभावकारी प्रचारका विषयमा सहजीकरण गर्नुभएको थियो ।