२०८२ भदौ १५, आइतवार , ०२:२५:४९ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुने

आइतवार, भदौ १५, २०८२

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह दुई एसियाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने भएको छ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री ओलीले दक्षिण-पूर्वी एसियाली मुलुक भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्ह र दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग प्रमुखसँग भेटवार्ता गर्न लाग्नुभएको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजअघि प्रधानमन्त्री ओलीले दुई राष्ट्राध्यक्ष-सरकार प्रमुखसँग भेटवार्ता गर्न लाग्नुभएको हो।

चिनियाँ समय अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्री फामबीच तियान्जिनस्थित होटल क्राउन प्लाजामा भेटवार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि आधा घण्टा समय तय गरिएको छ।

भियतनामका प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री ओलीले दक्षिण एसियाली मुलुक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नेछन्। साँझ ५ बजे हुने यो भेटवार्ता पनि आधा घण्टा अवधिको र होटल क्राउन प्लाजामै हुनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रथम महिला पेङ लिउआनले साँझपख एससीओ शिखर सम्मेलनमा निम्त्याइएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको स्वागतमा रात्रिभोज आयोजना गरेका छन्।

साँझ ७ बजे सुरु हुने सो रात्रिभोजमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुनेछन्।

चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीको पहिलो कार्यक्रम जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन गर्नुभएको थियो। त्यसपछि प्रधानमन्त्री ओली चाउ एनलाई र तङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गर्नुभएको थियो ।

अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा। कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी हुनुहुन्थ्यो।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ चीन पुग्नभएको हो ।

प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित खबर