२०८२ भदौ १५, आइतवार , ०२:००:४१ बजे

Sajhamanch
'

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १७५ जना पुग्यो

आइतवार, भदौ १५, २०८२

काठमाडौं । पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १७५ जना पुगेको छ । भदौ ६ गते शुक्रवार पहिलो पटक ३ जनामा हैजा पुष्टि भएकोमा त्यसपछि आज बिहानसम्म १७५ जनामा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

हैजा पुष्टि भएकामध्ये १५९ जना वीरगञ्ज महानगरपालिकाका र १६ जना पोखरिया नगरपालिकाका हुन् । यस्तै वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म झाडापखालाका ८०४ जना बिरामी अस्पताल भर्ना भएका छन् । यसमध्ये ३० जना हिजो बिहान १० बजेपछि थपिएका हुन् ।

८०४ जना झाडापखाला तथा हैजाका बिरामीमध्ये ४७ जना हैजा सङ्क्रमितसहित १९५ जनाले अझै उपचार गराइरहेका छन् । पोखरियामा हिजो बिहानपछि २ जनासहित अहिलेसम्म झाडापखालाका ३० जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये १६ जनामा हैजा पुष्टि भएको हो ।

सरकारले पर्सामा फैलिएको झाडापखाला र हैजा नियन्त्रण उन्मुख रहेको बताए पनि बिरामी थपिने क्रम हेर्दा अझै अवस्था जटिल देखिन्छ । हैजा समुदायस्तरमै फैलिएको छ ।

वीरगञ्ज महानगरपालिकाले एक हप्तादेखि सबै शिक्षण संस्था बन्द गरेको छ । खानेपानीको शुद्धता र सरसफाइका लागि तीव्र काम भएका छन् । तर नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन ।

यस्तै यसअघि शङ्का गरेको खानेपानीमा हैजाको जीवाणु भेटिएन । १० दिन हुँदा पनि हैजाको स्रोत पत्ता लाग्न सकेको छैन । सरकारले नियन्त्रण हुन लाग्यो भन्ने, नयाँ बिरामी भेटिरहने र स्रोत पहिचान नहुने कुराले वीरगञ्जसहित पर्सामा हैजाको चिन्ता बढिरहेको छ ।

सम्बन्धित खबर