
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरू भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । यो पर्व चार दिनसम्म मनाइन्छ।
विशेष गरेर सुदूरपश्चिमका पहाडी समुदायमा मनाइने गौरालाई दशैँभन्दा पनि बढी महत्व दिने गरिन्छ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यहीबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको सँस्कृतिविदहरुको भनाइ छ ।
यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्छन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ ।
गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौरा पर्वका कारण गाउँघरमा चहलपहल पनि बढेको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।