
- गोपाल काफ्ले
झापा । हिजोआज दैनिक १५ सय हाराहारी नेपाली युवा श्रम बेच्न विदेशिन्छन् भन्ने चर्चा हुन्छ । होइन भनौं भने अन्तर्राष्टिय विमानस्थलबाट विदेशिनेहरुको लर्को पनि उस्तै छ । तर युवा जमात विदेशिने मात्र छैनन्, स्वदेशमै सुन फलाउनेको पनि कमी छैन यहाँ ।
उहाँ अर्थात बिर्तामोड ९ का उपेन्द्र बेघा (४०) पनि यसरी नै कुनै दिन रोजगारीको सिलसिलामा विदेशिनु भएको थियो । करिव ३ वर्ष मलेसियामा सेक्युरिटी गार्ड गरी स्वदेश फर्किनु भएका उहाँले विदेशको सपनालाई चट्टै त्यागेर यतिबेला आफैं स्वावलम्बी बन्नु भएको छ ।
कामप्रतिको लगाव, हौसला र श्रमशील व्यवहारले उहाँलाई यतिबेला पैसा कमाउन विदेशै जानुपर्छ भन्ने लाग्न छाडेको छ । मलेसियाबाट स्वदेश फर्किए पछि उहाँले परिवारसँगै बसेर व्यवसाय गर्ने सोच बनाउनु भयो । र, ४ वर्ष पहिले परिवारको सल्लाहमा २ लाख रुपैयाँ हाराहारी लगानी गरेर बंगुर पालन सुरु गर्नुभयो ।
बेघा बंगुर फार्म नाममा सञ्चालित उक्त फार्ममा बुचो, भुनी र पाठापाठी गरी यतिबेला ४२ वटा सुंगुर छन् । मासुका लागि पालिने बंगुर फार्मबाट उहाँले वार्षिक १२ लाख रुपैयाँभन्दा बढीको आम्दानी गरिरहेको बताउनु हुन्छ । श्रम गरेमा यहीँ पैसा कमाइने रहेछ, अब त विदेश जाँदिन उहाँको भनाई छ ।
बेघा बंगुर फार्ममा आधुनिक खोर व्यवस्थापन गरी बुचो, पाठापाठी र भुनीका लागि कोठाहरु पनि छुट्याइएको छ । दुईवटा गोठमा उमेर अनुसारका बंगुरहरु छुट्याएर पालिएकाले स्याहार गर्नका लागि सहज हुने उपेन्द्रको भनाई छ ।
अहिले उहाँसँग कम्तीमा ४५ हजार रुपैयाँका दरले बिक्री हुने ९ वटा बुच्चे गोठमा छन् । हरेक पटक ३ हजार रुपैयाँ लिएर भर्ना गराइने दुईवटा विऊ बुच्चे छन्, जसको मात्र आम्दानी मसिक एक लाख रुपैयाँभन्दा बढी हुने उहाँ बताउनु हुन्छ ।
हरेक ९० दिनमा एउटा भुनीले १० वटादेखि १४ वटासम्म पाठापाठी जन्माउने र ४५ दिनजति स्याहार गरेर बिक्री गर्दा एउटाको ८ हजार रुपैयाँसम्म लिने गरेको उपेन्द्रको भनाई छ ।
उपेन्द्रको परिवारमा आमा, छोरा र छोरी छन् । दुई वर्ष अघि पत्नी शर्मिला बेघालाई अल्पायुमा नै गुमाउनु परे पनि उपेन्द्रले आफ्नो व्यवसायलाई रोक्नु भएन । पत्नी जीवित हुँदा प्राप्त हुने गरेको हौसलालाई शक्तिका रुपमा लिएर कामप्रति अझ लगनशील हुँदै एक्लोपन भुल्ने गरेको उहाँ सुनाउनु हुन्छ ।
बंगुर फार्मलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाबाट पत्नी शर्मिलाको नाममा उहाँले ४ लाख रुपैयाँ कर्जा लिनु भएको थियो । तर ऋण लिएको एक वर्ष पछि नै शर्मिलाको अकल्पनीय निधन भयो । पत्नीको विछोडले विछिप्त बनेका बेघालाई संजिवनी साकोसले आधा ऋण मिनाहा गरिदिएर केही राहत भएको उहाँ बताउनु हुन्छ ।
संस्थाको कर्जा नीतिमा ऋणि सदस्यको मृत्यु भएमा आधा ऋण मिनाहा गरिदिने व्यवस्था रहेको संजिवनी साकोसका ऋण विभाग प्रमुख गोपाल खरेलको भनाई छ । यो बीचमा बाँकी ऋण चुक्ता गरिसकेपछि उपेन्द्रले संस्थाको पेन्सन सदस्यता पनि लिँदै ४ लाख रुपैयाँ ऋण पनि लिनु भएको ऋण विभाग प्रमुख खरेल बताउनु हुन्छ ।
बंगुर फार्म गरेर प्राप्त भएको आम्दानीले उपेन्द्रले आफ्नी छोरीलाई नर्सिङ विषयमा भर्ना गरिदिनु भएको छ भने छोरा स्थानीय विद्यालयमा अध्ययनरत छन् । उपेन्द्रको निरन्तरको सक्रियताका कारण उहाँको सानो परिवार बंगुर फार्मकै आम्दानीबाट चलेको छ भने उहाँ पनि यस व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनु हुन्छ ।