
झापा । झापाको चारपाने– राजगढ सडक खण्डमा दुईवटा अटोले एकापसमा ओभरटेक गर्दा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
आज दिउँसो १ बजे बिर्तामोड-२ बेलडाँगीस्थित चारपाने–राजगढ सडक खण्डमा चैतुबारीबाट चारपानेतर्फ आउँदै गरेको मे. १ ह. ४८५३ नम्बरको अटोलाई सोही दिशाबाट आउँदै गरेको मे. १ ह. ५६४१ नम्बरको अटोले ओभरटेक गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको हो ।
दुर्घटनामा मे. १ ह. ४८५३ नम्बरको अटो चालक बाह्रदशी-३ बस्ने वर्ष ४४ का अशोक चौधरी , सोही अटोमा सवार मोरङ उर्लाबारी-९ बस्ने वर्ष ५२ की चन्द्रकला मिश्र , बिर्तामोड-५ बस्ने वर्ष २९ की गरिमा कोइराला तिम्सिना , उनका छोरा वर्ष १२ का विमर्श तिम्सिना , बाह्रदशी -२ बस्ने वर्ष ४८ की तुलसा खड्का , उनकी छोरी वर्ष २२ की रुबिना कार्की र मे. १ ह. ५६४१ नम्बरको अटो चालक बिर्तामोड-७ बस्ने वर्ष २४ का मनोज बि.क. घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट टोली खटिएर दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।