
काठमाडौं । भारतीय स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । अश्विनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिँदै अब विश्वभरका अन्य लिगमा खेल्ने सम्भावनाहरूको खोजी गर्ने बताएका छन् ।
३८ वर्षीय अश्विन आईपीएलमा सबैभन्दा धेरै विकेट लिने बलरको पाँचौं नम्बरमा छन् । उनले २२१ खेलमा १८७ विकेट लिएका छन् ।
अश्विन आईपीएलमा सबैभन्दा पहिला चेन्नई सुपर किङ्ग्सका हिस्सा थिए र उनको अन्तिम टोली पनि यही नै थियो । यसका साथै उनले राइजिङ पुने सुपरजायन्ट्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र किङ्ग्स एलेभन पन्जाबबाट पनि आईपीएल खेले । अश्विनले पन्जाबको कप्तानी पनि गरेका थिए ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले अहिलेका कुनै पनि भारतीय अन्तर्राष्ट्रिय वा घरेलु क्रिकेट खेलाडीलाई अन्य टी–२० लिगमा खेल्न अनुमति दिँदैन । तर अश्विन अब विश्वभरका कुनै पनि लिगमा भाग लिन सक्छन् ।