
कालीकोट । सडक भासिएर अवरुद्ध भएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक एकतर्फी सञ्चालनमा आएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला नजिकै सडक भासिँदा अवरुद्ध भएको सडक दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गएराति सडक भाँसिएर पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।
सडक सञ्चालनमा आएपछि साना गाडीहरू गन्तव्यतर्फ लागेका छन् । बस, ट्रक र अन्य ठूला गाडीहरू भने चल्न सकेका छैनन् ।
अहिले मर्मतको काम भइरहेकाले भोलिसम्म सडक पूर्णरूपमा सञ्चालनमा आउन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो ।